कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजार डुबानमा
फलेवास (पर्वत), साउन ११ गते । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् ।
डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् ।
कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए ।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ ।
छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ ।
पोखरा–बागलुङ, बेनी–मालढुङ्गा सडक अवरुद्ध
सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् ।
कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे सडकमाथिको भिरबाट लेदो माटो खसेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रु बीच बाटामै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षा भइरहेकाले समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै पर्वतको नाङ्लीवाङ गाविस–९ फर्सेमा सडकमाथिबाट आएको पहिराका कारण मालढुङ्गा–बेनी सडक राति १२ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन पहल गरिए पनि वर्षा नरोकिएकाले पहिरो निरन्तर बग्दा समस्या देखिएको छ । सुरक्षाकर्मी र सडक डिभिजन कार्यालय मार्फत सडक खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा हिमालपारिको मुस्ताङ र म्याग्दीबाट छुटेका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
अनुसन्धानका कार्यालय भत्कियो
अविरल वर्षाले सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन भत्किएको छ । कार्यालय प्रमुख विष्णु पण्डितको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालय भत्किँदा झन्डै रु चार लाख बराबरको क्षति भएको छ ।
कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन, टेलिफोन, टेबुल र सोफासेट लगायत सामानमा पूर्ण रुपमा क्षति पुगेको कार्यालय प्रमुख पण्डितले जानकारी दिनुभयो ।
उक्त कार्यालय तत्कालका लागि मर्मत गर्न पहल भइरहेको प्रहरीले जनाएको छ । पुरानो भवन भएकाले जमिन भासिनेबित्तिकै गाह्रो भत्किएको जनाइएको छ । रासस